काठमाडौं-तराई द्रुतमार्गको सुरु विन्दु डुकुछापमा कायम गर्न खोकनावासीको सुझाव

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २६, सोमबार (३ घण्टा अघि)
  • ४२ पटक पढिएको
काठमाडौं-तराई द्रुतमार्गको सुरु विन्दु डुकुछापमा कायम गर्न खोकनावासीको सुझाव

जेठ २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको खोकना र बुङमतीका स्थानीयवासीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको प्रस्थान विन्दुको विवाद समाधानका लागि आज त्यहाँका स्थानीयवासीका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा खोकनाका तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले प्रधानमन्त्री ओलीलाई समस्या र समाधानको विकल्पबारे सुझाव दिएका छन् ।

सरोकार समितिले खोकनामा सुरु बिन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट पार्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।

यसअघि प्रधानमन्त्री ओलीले गत २३ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।

कुल ७०.९७ किलोमिटर दूरीको दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आजको टलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस