बैशाख ९, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अमेरिकी स्थायी आवासीय अनुमति पत्र पीआर लिएको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
विदेशी आवासीयअनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था विपरीत पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । यही अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको हो । अहिले अख्तियारको आरोपपत्र रुजु गर्ने काम भइरहेको जनाइएको छ ।
पौडेल दुई कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एक पटक राष्ट्रिय सूचना प्रविधिक केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बेला अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो । पौडेलको यो मुद्दा किनारा लागिसकेको छैन ।