असोज ९, काठमाण्डौँ । माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दा फैसला सुनाउने पेशी तोकिएको छ । संवैधानिक इजलासले आज (बुधबार) सो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको मात्र मुद्दा रहेको छ ।
प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्षताको इजलासमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत,सपना मल्ल,प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी छन् । बारम्बर सर्दै आएको यो मुद्दामा आज फैसला नभएमा पुनः सुनवाइमा जाने सम्भावना छ ।
यो मुद्दामा बहस सकिएर नियमित सुनुवाइ तोकिएको हो । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि विविध कारणले फैसला हुन सकेको छैन ।
मुद्दामा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले बहस सुनेकाले सोही इजलासले फैसला सुनाउनु पर्नेछ । गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो ।
२०६९ मंसिरमा काभ्रेका लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।