आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २९, सोमबार (१३ घण्टा अघि)
  • ५६ पटक पढिएको
आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

वैशाख २९, काठमाडौं । वैशाख शुक्ल पूर्णिमा आज २५६९ औँ बुद्धजयन्ती मनाइदै छ । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन् ।

इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो । उमेर बढ्दै गर्दा उनी मानिसका दुःख देखेर चिन्तित बने । दुःखको निवारणको उपाय खोज्दै २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बौद्ध गयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि नै उनी गौतम बुद्ध बनेका हुन् ।

दुःखनाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

बुद्धले यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण ९मृत्यु० प्राप्त गरे ।

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।

बुद्धजयन्तीका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ । २००८ जेठ ८ गतेदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो ।

दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए ।

यस्तै काभ्रे सेवा समाजको आयोजनामा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा पनि हुदैछ । काभ्रेको लागि केही गरौं भन्ने नाराका साथ २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस