जेठ २४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घर–घरमा गएर रोजगारी दिने बताएका छन । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घर-घर पुगेर रोजगारी दिने आश्वासन दिए ।
उनले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताए । सरकारले भ्रष्टाचार नगरिकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘यसअघि सरकारले राम्रो काम नगर्दा विपक्षीले विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर विपक्षीहरु डाहाले विरोध गरिरहेका छन्’, उनले भने ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले भने अनुसार, पाँच लाख जना युवालाई जसरी पनि रोजगारी दिने दाबी गरे । उनले अहिले भक्तपुरमा ७ सय जनालाई आंशिक रुपमा रोजगारी दिइएको बताए ।
भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो । सूर्यविनायकबाट कटुञ्जे(तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गरेका हुन ।
कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।