‘मिडिया काउन्सिल विधेयक जबर्जस्ती पास गर्न खोजे सडक आन्दोलनमा जान्छौँ ‘ : सभापति देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २६, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ २६,गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन ।

सरकारलाई मिडिया काउन्सिललगायतका विधेयक पास गर्न नदिन सदन अवरुद्ध गर्ने चेतावनी दिँदै आएका देउवाले संसदमा जबर्जस्ती गरे सडकमा आन्दोलन गर्ने चेतावनी दिएका हुन । उनले संसदबाट मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने बताए।

यस्तै मानव अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक पनि पास हुन नदिने उनले दोहोर्‍याए । गोरखा सदरमुकाममा भएको नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले वर्तमान सरकारले सारा कुरा बर्बाद गरेको बताए ।

‘ओलीको सरकार आएपछि सारा कुरा बर्बाद भएको छ’, सभापति देउवाले भने, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजिएको छ ।’
नेपाली सेनालाई प्रधानमन्त्री मातहत नभै राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत राखिनुपर्ने उहाँको भनाइ छ । देउवाले गोरखा दरवारको पुननिर्माणमा भैरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाए ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि बूढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्नेमा जोड दिए । सम्बोधनको अधिकांश समय सरकारको आलोचनामा खर्चिएका शर्माले सरकारको क्रियाकलाप हेर्दा अधिनायकवादतर्फ उन्मुख भएको प्रष्ट हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस