आज राति खण्डग्रास चन्द्रग्रहण : ग्रहणमा कस्ता कार्य गर्नु शुभ हुन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ३१, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । । आज विक्रम संवत् २०७६ साल असार ३१ गते मंगलबार, ईश्वी संवत २०१९ जुलाई १६ । नेपाल सम्बत ११३९ दिल्लाथ्व, पून्ही । गुरु पूर्णिमा । अहिले परिधावी नामक संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको पूर्णिमा तिथि राति १ बजेर २५ मिनेटसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाषाढा नक्षत्र बेलुका ८ बजेर ५० मिनेटसम्म रहनेछ । आज वैधृति योग र भद्रा करण रहेको छ । सूर्योदय विहान ५ बजेर १९ मिनेटमा भयो भने सूर्यास्त भरे बेलुकी ६ बजेर ५९ मिनेटमा हुनेछ ।

चन्द्रमा धनु राशिमा छन् । आज गुरुपूर्णमाका साथै खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछन् । श्रद्धा भक्तिपूर्वक आज गुरुको पूजा आराधना हुने गर्दछ । यसैगरी यसवर्ष २०७६ आषाढ ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्नेछन् । ईशवीय वर्ष को १६–१७ जुलाई सन् २०१९ को राति योग ग्रहण आकाशमा देख्न सकिन्छ । ग्रहण नेपालका भूभागबाट प्रत्यक्ष देख्न सकिन्छ । राति १ बजेर ४६ बाट स्पर्श हुने खण्डग्रास चन्द्रग्रहण रातिकै ३ बजेर १५ मिनेटमा मध्य हुन्छ र ४ बजेर ४५ मिनेटमा मोक्ष हुन्छ । यसरी २ घण्टा ५९ मिनेट लामो समयसम्म योग्रहण आकाशमा देख्न सकिन्छ ।

ग्रहणको सुतक र बार्नु पर्ने कार्य

२०७६ साल आषाढ ३१ गते अपराह्न ४ बजेर ४६ बजेपछि ग्रहणको सुतक आरम्भ हुन्छ । अतः सो पूर्व नै भोजन गगरिसक्नुपर्ने धर्मशास्त्रीय वचन पाइन्छ । अर्थात् ४ बजेर ४६ बजेपछि बालक, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध गरिएको छ ।

ग्रहण लागेको समयलाई विद्ध मानिन्छ । त्यसैले सुतक वार्नुपर्ने शास्त्रीय विधान रहेको छ । सूर्यग्रहे ग्रहणप्रहरादर्वाक् यामचतुष्टयं वेधः । चन्द्रग्रहे तु प्रहरत्रयम् । (धर्म्सिन्धु, प्रथमपरिच्छेद, पृ. २७) अर्थात् सूर्यग्रहण लाग्नु भन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा ३ प्रहर अर्थात् ९ घण्टा अघिदेखि सुतक लाग्छ भनिएको छ । यसैले बाल, वृद्ध र आतुर बाहेक अरुलाई शास्त्रले भोजनादि निषेध गरेको छ । ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृंगार, शौच, बध, अरुलाई कष्ट हुने कार्य बर्जित रहन्छन् । ग्रहणकाले शयने कृते रोगो मूत्रे दारिद्रयं पुरीषे कृमिर्मैथुने ग्रामसुकरोभ्यग कुष्ठी भोजने नरक इति । (धर्म्सिन्धु, प्रथमपरिच्छेद, पृ. २७) यसैगरी अर्को श्लोक पनि पाइन्छ : निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्यमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसुकरः । आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः । बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।। अर्थात् ग्रहण लागेका अवस्थामा सुते रोगल लाग्न सक्छ, शौचादि कार्य गर्नाले दारिद्र्य हुन्छ । दिशा बस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि संगम गर्नाले अर्को जन्ममा सुगुरको योनि प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृंगार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ । कसैलाई बन्धनमा राख्नाले सर्पको योनि प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नुपर्छ भनी उल्लेख गरिएको छ । यसैगरी ग्रहणमा श्राद्ध गर्नु शुभ भए पनि श्राद्धको भोजन भने गर्नुहुँदैन ।

ग्रहणमा कस्ता कार्य गर्नु शुभ हुन्छ ?
ग्रहण लागेको समयका जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनु भन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख छ । यो समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी ग्रहणमा स्नान पनि विशेष शुभदायी मानिन्छ । ग्रहण स्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुश पानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ । तुलादान ग्रहणमा शुभ मानिएको छ । (निर्णयसिन्धु, पृ.४२) ।

ताजा अपडेट

खोजी गर्नुहोस