कास्कीमा चुनाव जित्न धर्मको सेन्टीमेन्ट तान्दैछ कांग्रेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ७, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर ७,कास्की । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको कास्की २ को माहौल तातिएको छ । आफ्ना उम्मेदवारलाई भोट माग्न शीर्ष नेताहरुको दौडधुप मात्र बढेको छैन, आरोप(प्रत्यारोपको श्रृंखला पनि चलिरहेको छ ।

पछिल्लो समय केही दलले नेकपा उम्मेदवार विद्याका पति स्व। रविन्द्र अधिकारीको किरिया कर्मका विषयलाई चुनावी मसला बनाएका छन् । कांग्रेसको अधिकांश चुनावी सभा र घरदैलोमा विद्याले काजकिरियासमेत नगरेर परम्परा र हिन्दु संस्कृतिमाथि नै प्रहार गरेको आरोप लगाउने गरिएको छ ।

कांग्रेसले शुक्रबार र शनिबार पोखरामा ठूला सभा गरेको थियो । दुबैमा काजकिरियाको विषय उठ्यो । नेता धनराज गुरुङले धर्म र संस्कारमाथि नै प्रहार गर्ने काम नेकपाले गरेको बताए ।

शुक्रबारको चुनावी सभामा विद्याप्रति लक्षित गर्दै गुरुङले भने, ‘जसले काजकिरिया पनि पूरा गर्न सक्दैन, उसले धर्म र संस्कारको रक्षा गर्न पनि सक्दैन ।’

कांग्रेस नेता मिनेन्द्र रिजालले प्रत्येक भाषणमा किरियाको विषय उठाउँदै आएका छन् । जुन धर्म मान्ने हो, त्यो धर्मभित्रको पूरा संस्कार पालना गर्नुपर्नेमा विद्याले हिन्दु धर्म मान्ने तर पूरा काज किरिया कर्म नमान्ने गरेको उनको आरोप छ ।

नेता रामहरि खतिवडाले पूरा किरिया पनि गर्न नसक्नेले जनताको सेवा गर्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । नेता गगन थापाले धर्म, संस्कार र संस्कृति भनेको पहिचान, जीवनका मूल्य मान्यतामाथि जोडिएको उल्लेख गर्दै धर्म संस्कारमाथि प्रहार भइरहेको बताए ।

आगामी मंसिर १४ गते हुने चुनावमा विद्या भट्टराई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट उम्मेदवार बनेकी छिन् । उनलाई नेपाली कांग्रेसका खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ र विवेकशील नेपाली दलकी जमुना शर्माले चुनौती दिएका छन् ।

रविन्द्रको काज किरियालाई लिएर कांग्रेस नेताहरुले कम्युनिष्टलाई धर्म संस्कारविरोधी देखाउने प्रयास गरेको उनीहरुको अभिव्यक्तिमा झल्किन्छ । यसो गर्दा चुनावका बेला काजकिरियाको विषय बहसमा तानिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस