मंसिर ८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) एउटा पँधेरो भित्रको भ्यागुतो जस्तो मात्र भएको उल्लेख गरेका छन ।
मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ (क)का नेकपाको तर्फबाट उम्मेदवार रहेका देवी प्रसाद ढकाल (डिपी)लाई विजयी गराउन आयोजना गरिएको वृहत युवा भेलालाई शनिवार सम्बोधन गर्दै सांसद बस्नेतले भने, ‘नेमकिपा र कांग्रेस एउटा पँधेरो भित्रको भ्यागुतो मात्र हो, बाहिर निस्कन्जेल फुर्ति लगाउँछ, कि मैले संसार देखे भनेर र कसैले कत्रो हुँदो रहेछ संसार भन्यो भने पेट फुलाएर यो भन्दा ठूलो अनि त्यो भन्दा पनि ठूलो भन्दा भन्दै पेट फुटेर मरेछ । नेमकिपा भक्तपुर नगरपालिकाको कचौरा भित्र रमाइरहेको छ र पेट फुटेर मर्ने अवस्थामा पुगेको छ । कांग्रेसको पनि हालत सोही अनुसार नै छ ।’
देशभर नेकपाको जनलहर देखेर केही गिद्धे नजर भएका मिडियाहरुले जनतामा भ्रम छर्ने कार्य समेत हुन सक्ने उल्लेख गर्दै उनले त्यस्त प्रकारका मिडियासँग अत्तीनुको कुनै जरुरी नभएको बताए । युवा संघ युवाहरुको सहि मार्ग निर्देशन गर्ने कारखाना रहेको उल्लेख गर्दै उनले भने, ‘युवा संघले बनाएको पिmनिसिङ उत्पादन कस्तो हुन्छ भनेर सवै जनतालाई छर्लङ्ग छ । युवा संघकै उत्पादनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, महेश बस्नेत, गोकर्ण विष्ट, रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगायतका असंख्या देशको कार्यकारी पदमा पुगी मुलुकलाई समृद्ध र विकसित बनाउने महान संकल्पका साथ तिव्र गतिले अघि बढिरहनुभएको छ ।’
युवा संघको प्रवेशसँगै देशको नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने उल्लेख गर्दै उनले राष्ट्रवादी युवा निर्माण गर्ने थलो भनेको युवा संघ भएको स्पष्ट पारे । उनले भने, ‘नेपालका सीमा लिपुलेक, कालापानी, लिम्पुयाधुरालगायतका क्षेत्रमा नेपालमाथि भारतले धावा बोलेमा त्यसमा युवाले प्रतिवाद गर्छ, नेपालको झण्डा फहराउँछन् । राष्ट्रियताको पक्षमा शिर झुकाउँदैन । सरकारले कुटनीतिक तवरले समस्या समाधान गर्ने प्रकृया अघि बढाएको छ । यदी उक्त प्रकृयाबाट समस्या समाधान नभई युवा संघले जुनसुकै मुल्य चुकाएर भएपनि आफ्नो जमिनको रक्षा गर्छ । पहिलो चरणमा कुटनीतिक त्यसपछि भएन भने अन्तर्राष्ट्रियकरण साथै संयुक्त राष्ट्र संघ जानुपरे पनि जान युवा संघ तयार छ ।’
कसैले दवाप तथा आर्थिक प्रलोभनमा पार्ने प्रयास गर्छ भने प्रतिवाद गर्न युवा संघका नेता तथा कार्यकताृलाई निर्देशन दिँदै सांसद बस्नेतले भक्तपुरमा कांग्रेस र नेमकिपा शुन्य बनाउने अभियान चलाउन समेत युवालाई निर्देशन दिएका छन । उनले भने, ‘अर्को पटकको निर्वाचनबाट भक्तपुरमा कही कतै पार्टी प्रवेश गराउने वातावरण आवश्यक नहुने गरी काम गर्नुस् । उपनिर्वाचनमा कांग्रेस तथा नेमकिपाको भोट किनवेच गर्ने विशेष गतिविधिको निगरानी गर्नुस् । साँझ परेपछि प्रहरीसँग समन्वय गरी गस्ती गर्नुस्, गरिव, असाहाय वस्तीमा भोटको किनवेच हुन सक्छ यसलाई रोक्नुस् आफ्नो तवरले लाग्नुस् । पैसा बाढेको भेटे कब्जा गर्नुस् । उक्त रकम सामाजिक कार्यमा प्रयोग गरौंला । भोटमा घुनपुत्ला नलागोस्, कहि कतैबाट दवाप आए सम्पर्कमा वस्नुस्, आवश्यक कदम संगठन तथा पार्टीले चलाउँछ । तपाईहरु कुनै पनि कुरामा आत्तीनु पर्दैन ।’
नेमकिपालाई १ नं. क्षेत्रमा विजयी गराउनु नै क्षेत्र नं. १ विकासमा पछि परेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा ‘एक वुथ १०० युथ’ को अभियानलाई प्रभावकारी ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो । भक्तपुरमा अब नेकपाले सयौं वर्ष सेवा जनताको मतबाट विजयी भई जनताको सेवामा समर्पित हुने उद्घोष गर्दै उहाँले भन्नुभयो, ‘सात दिन नेकपालाई सेवा गर्नुस्, पाँच वर्ष तपाईलाई नेकपाले सेवा गर्छ । युवा साथीहरु अव नेकपाको उम्मेदवार विजयी नभएसम्म २४शैं घण्टा खट्नुस्, पार्टीले तपाईको मुल्याङ्कन गर्छ ।’
भक्तपुरमा एक सय एक नेता रहेको र आवश्यक परे सिंहासनमा बसेको सिंहलाई थर्काउन सक्ने क्षमता रहेको उल्लेख गर्दै उहाँले नेकपामा प्रवेशसँगै कांग्रेस र नेमकिपाको सातोपुत्लो गएको समेत बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य, भक्तपुरका सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले भक्तपुरमा नेकपाको नेतृत्व आउसँगै विकासका चारै तिरका ढोका खुल्ला गरेको उल्लेख गरे । विगतको लामो समय कांग्रेस र नेमकिपाले भक्तपुरको विकासलाई अन्धकारमा पुर्याएको उल्लेख गर्दै अब जनताको चाहना र आवश्यकता अनुसारको विकासमा कुनै कमि नहुने समेत प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले युवा संघ देशमा युवाहरु आर्थिक समृद्धिमा जाडिनु पर्नेमा जोड दिँदै रोजागरी ग्यारेन्टीका आधारहरु तयार पारिरहेको जानकारी गराए। उनले युवाले अब तत्कालै देश विकास र समृद्धिका अभियान शुरु गर्ने उद्घोष गर्दै अब तत्काल युवालाई विकास र उत्पादनमा जोड्ने कार्यक्रमहरु ल्याउने जानकारी गराए । उनले अबको युवाको अभियान सडक निर्माणको अभियानमा समेत लगाउने जानकारी गराउँदै वेरोजगार युवा संघको सदस्याता हुन नसक्ने बताए।