मंसिर २४, बाँके । बाँकेको कोहलपुरमा आइतबार बिहान भएको सडक दुर्घटनापछि उत्पन्न तनाव दिनभरिको वार्ता र छलफलपछि ६ बुँदे सहमतिमा टुंगिएको छ ।
घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा स्थानीय प्रशासनको पहलमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर ६ बुँदे सहमति खोजी टुंग्याएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको राजनीतिक दल, नागरिक समाज, अभिभावक, विद्यालय व्यवस्थापन गरी सर्वदलीय बैठक बसेर सो सहमति गरिएको छ ।
६ बुँदे सहमतिअन्तर्गत:
- दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा प्रकृति चन्दको शिक्षा दीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने,
- भिडन्तमा घाइते सम्पूर्णलाई उपचार खर्च राज्यले बेहोर्ने,
- घटनामा घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीलगायत सबै सरोकारवाला पक्षले पहल गर्न सद्भाव -यालीको आयोजना गर्ने,
- घटनाले उग्ररूप लिनुमा कुनकुन ठाउँबाट कमजोरी भयो भनी छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने,
- घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने, र
- घाइतेको उपचार, क्षतिपूर्ति तथा राहतका लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारी, शैक्षिक संस्थालगायत सरोकारवाला सबैले आआफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने ।
सहमतिपछि पनि एक समूह सडकमा उत्रिएर तोडफोड गर्न सुरु गरेपछि त्यस्ता गतिविधि रोक्न तथा विध्वंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रहरीले राजमार्ग र आसपासको सुरक्षाको व्यवस्था बलियो बनाएको छ । राजधानी दैनिकमा खबर छ ।