पुस २५,काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा भेटेकी छन् र राजीनामा नदिने अडान लिएकी छन् ।
यति मात्र होइन, भोलिसम्म आफूलाई सभामुख बनाउने निर्णय नगरे संसद बैठक सञ्चालन गरेर सभामुखको चुनावी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकी छन् ।
सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा ठूलो विवाद छ । अध्यक्षद्वय ओली र प्रचण्डको बीचमा पूर्व एमाले कि पूर्व माओवादीबाट सभामुख भन्ने बहस त छँदैछ, उपसभामुख तुम्बाहाम्फेले आफू सभामुख हुनुपर्ने अडान लिएकी छन् ।
प्रधानमन्त्री समेत रहेका ओली संसदीय दलका उपनेता सुवास नेम्वाङलाई फेरि सभामुख बनाउन चाहन्छन् । प्रचण्ड भने महरा पूर्व माओवादीको कोटाबाट सभामुख भएकाले नयाँ सभामुख पनि आफूले प्रस्ताव गर्ने अडानमा छन् । पूर्व माओवादीमा देव गुरुङ, पम्फा भुसाल, ओनसरी घर्तीको दाबी भए पनि अग्नि सापकोटा पहिलो रोजाइमा छन् ।
ओली र प्रचण्डबीच कसलाई सभामुख बनाउने भन्ने निर्णायक छलफल हुनुपूर्व उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने नेकपा नेताहरु बताउँछन् । किनकी संविधानले सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ । तुम्बाहाम्फे तत्कालिन एमालेबाट उपसभामुख निर्वाचित भएकाले उनी उपसभामुख रहिरहेर निर्वाचनको प्रक्रिया सुरु नेकपाले सभामुख पदमा उम्मेदवारी नै दिन नपाउने नेताहरु बताउँछन् ।
तर उपसभामुख शिवमायाले आफूले राजीनामा नदिने अडान लिएकी छन् । शुक्रबार विहान बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डलाई भेटेकी उनले प्रष्ट शब्दमा भनेकी छन्, ‘भोलिसम्म समय छ, मलाई सभामुख बनाउने निर्णय गर्नुस् । नभए म संसद चलाउँछु र सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउँछु ।’
स्रोतकाअनुसार जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले राजीनामा दिन आग्रह गरेका थिए । अर्का अभ्यक्ष प्रचण्डले ‘जो सभामुख बन्ने भए पनि यो पद नेकपामा राखिराख्न तपाईले उपसभामुखबाट राजीनामा दिनुपर्छ’ भनेका थिए ।
यसैबीच नेकपाले भोलि अपराह्न ४ बजेका लागि सचिवालयको बैठक बोलाएको छ । बैठकमा सभामुख चयनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
राजकुमार श्रेष्ठ/अनलाइनखवर