माघ २, काठमाण्डौ । सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद भने गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुसँग सभामुख चयनका विषयमा कुराकानी गरे । दाहाल निवासमा पनि पूर्व माओवादी समूहका नेताहरुबीच छलफल भएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
महासचिव पौडेलले दुबै अध्यक्षलाई दिनहुँ भेट्ने गरेका छन् । अनौपचारिक सन्देश पुर्याइरहेका छन् । ‘यो विषय दुई अध्यक्षले टुंग्याउने खालको छ । उहाँहरुले टुंग्याउनुहुन्छ भन्नेमा म विश्वस्त छु,’ महासचिव पौडेलले भने । उनले दुई अध्यक्षबीचको अहिलेको मनस्थिति कुन तहको हो भन्ने कुरा भने खुलाउन चाहेनन् । दुबै अध्यक्षलाई सभामुखमा साझा प्रस्ताव ल्याउन नेताहरुले दबाब दिइरहेका छन् ।