फाल्गुण ६, लमजुङ। गत असारमा आएको बाढीले अपर दोर्दी ए जलविद्युत आयोजनाका १० जना मजदुरको निधन भएको थियो । तीब्र गतिमा अघि बढेको आयोजनामा एकाएक आएको प्राकृतिक विपतिले काम नै रोकिन पुगेको थियो । आयोजनामा कार्यरत कामदारकै मुत्युको पीडा ठूलो थियो। सँगसँगै निर्माणाधिन संरचनामा समेत क्षति पुगेको थियो । मानवीय र संरचनाको क्षति ब्योहोरेपछि क्षतिपूर्ति लगायतका प्रक्रियालाई आयोजनाका संचालकले राम्रोसँग व्यवस्थापन गर्न सफल भए । व्यवस्थापन गर्न सफल हुनुमा आयोजनामा संलग्न रहेका अनुभवी संचालकहरुको भूमिका महत्वपूर्ण थियो । त्यही व्यवस्थापनका कारण आयोजनाको काम पूरानै लयमा फर्कियो । र, अहिले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
आयोजना निर्माणको कमा गरिरहेको लिबर्टी हाइड्रो पावर कम्पनीका अनुसार ९५ प्रतिशत पूरा भएर सिभिलतर्फको उपकरणहरू जडान पनि अन्तिम चरणमा पुगेको छ । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ६ र ७ को किर्तिपुरमा निर्माणाधीन आयोजनाबाट आगामी चैतभित्रै बिजुली उत्पादन थाल्ने लक्ष्य रहेको निर्देशक राम पाण्डेले बताए ।
टर्बाइन र ट्रान्सफर्मर जडान भइसक्यो, उनले भने, विद्युत उत्पादन गर्ने स्वीचयार्ड निर्माणको काम धमाधम भइरहेको छ । स्वीचयार्ड तयार हुनेबितिकै परीक्षण उत्पादन सुरू गर्छौ। परीक्षण लगत्तै आगामी चैत्रभित्रै २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने हाम्रो लक्ष्य रहेको उनले बताए ।
भूकम्प र नाकाबन्दीका कारण पहिलोपटकको उत्पादन मिति पर सरेपछि यही वर्ष गत कात्तिकमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको थियो । तर त्यसअघि नै गत असारमा आएको बाढीले आयोजनाको बाँधस्थलदेखि विद्युतगृहसम्मै क्षति पुर्याएको थियो । कार्यरत मजदुरको मृत्यु र वेपत्ताको घटनासँगै भौतिक क्षति ब्योहोर्दा आयोजनाको उत्पादन मिति ६ महिना पर धकेलिएको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नौवटा बैंकको ऋण लगानी रहेको आयोजनाको प्रवर्द्धक कम्पनी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी नेतृत्वको लिबर्टी इनर्जी हो ।
करिब चार अर्ब रूपैयाँको लागतमा निर्माण थालिएको रन अफ रिभर आयोजनालाई भूकम्प र बाढीले क्षति पुर्याएपछि लागत केही बढेको छ । लागत बढेपनि आयोजनाको प्रतिमेगावाट उत्पादन लागत भने अन्य आयोजनाको भन्दा सस्तो नै हुने दाबी गरिएको छ । अहिले आयोजनाको उत्पादन लागत प्रतिमेगावाट १७ देखि १८ करोड रुपैयाँमा हुन सक्ने अनुमान छ ।