केटीकाण्डमा नेकपाका नेता धमाधम तानिँदै, सभामुखदेखि मन्त्रीसम्म

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उच्च तहका नेताहरू धमाधम केटीकाण्ड पर्न थालेका छन् । स्थानीय नेता कार्यकर्ताको त हिसाब नै छैन । सभामुख, संघीय सरकारको मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सांसद, पूर्वमन्त्रीसमेत केटीकाण्डमा जोडिसकेका छन् । कसैले कारबाही भोग्नुपरेको छ भने केहीले आफ्नो पदसमेत गुमाउनु परेको छ ।

केटीकाण्डमा विवादमा तानिएका नेकपाका उच्च नेतामा पूर्वसभामुख कृष्णबहादुर महरा हुन् । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबर्जस्तीकरणी गरेको आरोपमा उनले आफ्नो सभामुख पद मात्र गुमाएनन्, तीन महिनाभन्दा बढी समय जेलमै बिताउनु परेको थियो । सो मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिइसकेको छ । पीडित भनिएकी शाहीकै बयानका आधारमा महराले सफाइ पाएका हुन् ।

शेरधन राई प्रदेश १ का मुख्यमन्त्री हुन् । उनको नाम पनि अहिले एक महिलासँग जोडिएर आएको छ । पूर्वअखिल कार्यकर्ता बालिका खड्काले मुख्यमन्त्री राईमाथि जबर्जस्तीकरणीको आरोप मात्र लगाएकी छैनन्, उनले आफूमाथि अन्याय भएको भन्दै अंश भराई पाउँ भनी हालै अदालतमा मुद्दासमेत हालेकी छन् । तर, राईले भने आफ्नो राजनीति सिध्याउन षड्यन्त्र भएको दाबी गर्दै आएका छन् ।

टेकबहादुर बस्नेत पूर्वसामान्य प्रशासनमन्त्री हुन् । उनी सल्यानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनीमाथि सल्यानकै एक महिलाले गम्भीर आरोपसहित खुलापत्र पठाएकी छिन् । पत्रमार्फत उनले सांसद बस्नेतलाई रकम सापट दिएको, तर फिर्ता माग्दा यौन हिंसा गरेको आरोप लगाएकी छन् । २०७४ असोजमा चार लाख सापटी दिएको र सो पैसा समयमा फिर्ता नदिएपछि पूर्वमन्त्री बस्नेतलाई पटक–पटक फोन सम्पर्क गर्दा यौन कर्मको आसय राखी कुरा गरेको भन्दै महिमा खत्रीले सामाजिक सञ्जालमार्फत यो विषय सार्वजनिक गरेकी हुन् । ‘म पूर्वमन्त्री हुँ, तिमी जे गर्न सक्छौ गर, पैसा दिन्न’ जस्ता धम्की बस्नेतले दिएको उनले बताएकी छन् ।

केटीकाण्डमै प्रदेश नम्बर ३ को भौतिक योजना तथा निर्माण मन्त्रीबाट केशव स्थापितले हात धुनु परेको थियो । उनीमाथि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमार्फत आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी हुन् । ‘मेयर स्थापितको कुरा नमान्दा मैले जागिर गुमाउनुपर्‍यो, उनी यौनहिंस्रक हुन्’ भन्दै रश्मीलाले उनले अझै पनि महिलामाथि यौनहिंसा गरिरहेको बताएकी छन् । महिलासँग नाम जोडिएर आएपछि उनलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेका थिए ।

यस्तै, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पनि केटीकाण्डकै कारण पद गुमाएका थिए । उनलाई धनगढीकी एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । सोडारीमाथि भ्रष्टाचार गरेको आरोप पनि थियो । तर, महिलासँग भएका कुराकानीको टेप नेकपाका शीर्ष नेतादेखि प्रधानमन्त्री केपी ओलीले समेत सुनेपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका सांसद अक्कलबहादुर रावललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । सांसद रावलले विवाहित महिलामाथि बलात्कार गर्न खोजेको आरोप लागेको हो । एक महिलाले उजुरी गरेपछि प्रहरीले खोजिरहेका बेला उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । रावल अछाम २ को ‘ख’ बाट निर्वाचित नेकपाका सांसद हुन् । पार्टी एकताभन्दा पहिले तत्कालीन माओवादीको प्रमुख सचेतक रहेका रावल एकतापछि नेकपा संसदीय दलको सचेतक भएका हुन् ।

यस्तै, नेकपा कैलाली अध्यक्ष रतन थापा पनि केटीकाण्डमा मुछिएका छन् । उनको त एक महिलासँग गरेको अश्लील टेप नै सार्वजनिक भएको थियो । तर, नेकपाले अहिलेसम्म उनलाई कुनै कारबाही गरेको छैन । क्यानडा नेपालबाट

ताजा अपडेट

खोजी गर्नुहोस