देशव्यापी बन्द गर्नुको विकल्प नभएको भारतिय प्रधानमन्त्री मोदीको भनाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन् । भारतमा मङ्गलबारदेखि लागु भएको लकडाउन एक साता नपुग्दै प्रधानमन्त्रीले यसबाट नागरिकलाई तत्काल कठिनाई परे पनि अन्ततः यसले नागरिकको हित नै गर्ने बताए ।

आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका हुन् । सरकारले सबै जनतालाई सुरक्षित राख्नका लागि चाहेको र यो निर्णयको कुनै विकल्प नरहेको उनले बताए ।

उक्त कार्यक्रममार्फत् प्रधानमन्त्री मोदीले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका थिए । लकडाउन हुँदाहुँदै दिल्लीबाट हजारौँ मानिसहरु पैदल हिँडेरै अहिले गाउँगाउँ गइरहेका छन् । भारतमा आइतबारसम्म कोरोना भाइरसका कारण २५ जनाको ज्यान गइसकेको छ भने करिब १ हजार जना संक्रमित भइसकेका छन् ।

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह
यसैबीच दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन् । उनले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताए। हामीले देश निर्माणमा अहम् भूमिका खेल्ने सबै श्रमिकलाई विपतमा विर्सने छैनौं । उनले दिल्लीबाट भारतका अन्य राज्य तथा नेपाल र अन्य एशियाली मुलुकका लागि गाडीको व्यवस्थापन गर्न बसपार्कमा भेला भएका मानिसहरूलाई सङ्केत गर्दै यसले झन् समस्या निम्त्याउने बताएका थिए ।

नयाँदिल्लीका मुख्यमन्त्री समेत रहेका अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई पनि राहतको व्यवस्था गर्ने घोषणा गरेका छन् । सरकारले आवश्यक गृहकार्य शुरु गरिसकेको र चाँडै नै राहत उपलब्ध गराउने उनले बताए । राहत प्याकेज अन्तर्गत अत्यावश्यक सबै सेवा तथा सामग्री समावेश गरिएको मुख्यमन्त्री केजरीवालको भनाइ छ ।

सामाजिक सन्जाल ट्वीटरमा उनले लेखेका छन् “कतिपय कामदारहरु समस्यामा परेको र घर फर्कन लागेको थाहा पाएको छु । समस्याबाट चिन्ता लिनु र भाग्नु पर्दैन ।” प्रधानमन्त्री नरेन्द्र मोदीले जो जहाँ छौ त्यही बस्न र कतै नजान आग्रह गरेको पनि उनले स्मरण गराए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस