महामारीका वेला प्रहरीलाई मास्क छैन, हतियार किन्ने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख २०, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमाण्डौ । महामारीको वेला फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरसमेत उपलब्ध गराउन नसकेको सरकारले हतियार किन्ने निर्णय गरेको छ । आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भीड नियन्त्रणका सामग्री खरिद गर्न लागिएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि प्रहरी प्रधान कार्यालयले हतियार खरिद प्रक्रिया अघि बढाएको छ । प्रहरीले वाटर क्यानन, नौ एमएमको पेस्तोल र सटगन खरिदको तयारी गरेको छ । भीडमाथि पानीको फोहोरा हान्न वाटर क्यानन किन्न लागेको प्रहरीले अश्रुग्यास र रबरका गोलीसमेत प्रहार गर्ने सटगन किन्दै छ । त्यस्तै, नौ एमएमको पेस्तोलसमेत खरिद गर्ने गरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालयले लागत मूल्यांकन गरिरहेको छ ।

धेरै ब्यारेकमा प्रहरी भुइँमा सुत्नुपर्ने अवस्था छ । नेपाल प्रहरीको इतिहासमा अहिलेसम्म एक जवान एक खाटको कार्यक्रमसमेत सफल भएको छैन । हरेक वर्ष आश्वासन आए पनि बजेट नपुगेको भन्दै प्रहरीलाई चिसो भुइँमा सुताउने गरिएको छ । सरकारले नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेको छ । त्यसैले सार्वजनिक ठाउँमा शौच गर्ने सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेर यातना दिने गरेको छ । तर, देशका सात सय ६० प्रहरी कार्यालयमा शौचालय छैन । प्रहरी आफैँ अँध्यारो र झाडी खोज्दै शौच बस्न बाध्य छन् । प्रहरीको रासनभत्ता नबढेको साढे चार वर्ष भइसकेको छ । चार वर्षअघिको दरअनुसार रासनभत्ता दिने गरिएको छ । प्रहरीलाई दिनुपर्ने आधारभूत सुविधा पनि वर्षौं थाती राखेर प्रहरीले हतियार खरिदलाई भने हरेक वर्ष उच्च प्राथमिकता दिँदै आएको छ ।

यसपालि पनि फिल्डमा खटिने प्रहरीका लागि अत्यावश्यक सामान खरिदका लागि आएको ५० करोड रुपैयाँ भने सरकारले फिर्ता लगेको छ । कोरोना नियन्त्रणका लागि बजेट अभाव हुने भन्दै सरकारले प्रहरीको बजेट फिर्ता मागेको हो । अन्य सरकारी कार्यालयको खर्च पनि कटौती गरेर हतियार खरिदलाई भने प्राथमिकताका साथ अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस