एनआईसी एसियाले अनलाइन माध्यमबाट व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाण्डौ ।  लकडाउनको समयमा बाहिर निस्कनु भनेको गाह्रै कुरा रहेको अहिले सबैको अनुभव छ । कहिले काही त खाने सामान किन्न पसलसम्म निस्कनै पर्ने हुन्छ । तर त्यसको विकल्पको रुपमा अहिले विभिन्न अनलाइन कम्पनी तथा मिनी मार्केटहरूले उपभोक्ताको घरसम्मै समान पठाइदिने व्यवस्था गरिरहेका छन् । जसबाट उपभोक्ताहरूलाई आफ्नो दैलोमै समान प्राप्त गर्ने सुविधा प्राप्त भइरहेको छ । अहिले घरसम्म समान पु¥याउने व्यवस्था हुँदाका बाबजुत उपभोक्ताहरूसँग घरमा नगद मौज्दात नहुन सक्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै एवम् लकडाउन पालनामा सहयोग पु¥याउने उद्देश्यले एन आई सी एशिया बैंकले क्यूआर कोडका माध्यमबाट घरमै बसेर पनि उपभोग्य वस्तुको लागत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

ग्राहकहरूको यस्तो सुविधाको लागि बैंकले खाद्यान्न समाग्री घरसम्मै डेलिभरीको सुविधा दिइरहेका व्यवसायीहरूलाई मध्यनजर गर्दै एउटा विशेष योजना सार्वजनिक गरेको छ । जसअनुसार व्यवसायीले बैैंकको [email protected] मार्फत क्यूआर कोडका लागि आवेदन दिन सक्छन् र विशेष प्रक्रिया अपनाइ बैंकका प्रतिनिधीहरूले इमेलमार्फत नै क्यूआर कोडको सुविधा प्रदान गर्छन् ।
यस क्यूआर कोड मार्फत व्यवसायीहरुले ग्राहकहरुसँग उनिहरुको मोबाइल बैकिङ्ग मार्फत आफुले बिक्रि गरेका उपभोग्य वस्तुको भुक्तानी लिन सक्नेछन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई लक्षित गरी यस्तो योजना ल्याएको हो ।

धेरै समयको लकडाउनको कारण एन आई सी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको जनाएको छ । ग्राहकहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बेैंक खातामा उक्त रकम जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आई सी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत सुरक्षित रुपमा क्यूआर कोड प्रदान गर्नेेछ । यसका लागि सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्यूआर कोड सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ ।

उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एन आई सी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ । बैंकले व्यवसायीहरुको उक्त इमेल पाइसकेपछि बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गरी उक्त क्यूआर कोड प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गरिनेछ । व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ ।

त्यसपछि बैैंकले आवश्यक प्रकृया पूरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्यूआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्यूआर कोड स्वयम् प्रिन्ट गरी एन आई सी एशिया बैंक तथा अन्य बैंकका ग्राहकहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नुहुनेछ । कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने क्यूआर व्यवसायीलाई प्रदान गर्नेछ जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्नुहुनेछ । व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढि पनि क्यूआर स्टान्डे प्रदान गर्नेछ ।

बैंकमा हालसम्म मोबाइल बैंकिङ्ग सेवा प्रयोग नगर्न‘ु भएको ग्राहकहरुको हकमा ग्राहकहरुले सजिलै घरमै बसी मोबाईल बैंकिङ्ग सुचारु गरी यो सेवा लिन सक्नुहुनेछ तथा यस बैकमा खाता नभएका उपभोक्ताहरुले यस बैंकमा अनलाइन खाता खोल्न सक्नुहुनेछ र यसरी खोलिएको खातामा पनि मोबाइल बैकिङ्ग सेवा सुचारु गरि निश्चित रकमसम्मको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने बैंकको भनाई छ ।

नेपाल राष्ट्र बैंकले २०७६ चैत्र ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहकहरूले मोबाइल बैंकिङ्ग ( क्यूआर कोडसमेत) बाट प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सक्नेछन् । यस प्रकारको योजनाले अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहकहरूलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्ने देखिन्छ भने ंसरकारको डिजिटल नेपालको लक्ष्यलाई पनि टेवा पुग्ने आंकलन गर्न सकिन्छ ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न प्रोत्साहन गरिरहेको छ ।

हालसम्म बैंकले आंशिक शाखाहरूमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकहरूले निःशुल्क रुपमा घरबाटै गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ । उक्त सेवाहरूका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, यस बैैकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा आफ्ना ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस