साउन १,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल विना निष्कर्ष सकिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्ड–माधव समूहले अब तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीमा पछिल्लो समय देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफल विना निष्कर्ष सकिएपछि प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरु खुमलटारमा भेला भएका थिए ।
बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि खुमलटार भेलामा उनीहरुसहित सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल भेला भएका थिए ।’ स्रोतका अनुसार भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ । बालुवाटार बैठकमा प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेको एक नेताले बताए । तर ओलीले अस्वीकार गरेका थिए ।