साउन ६,काठमाडौँ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सञ्चारगृहलाई राहत र सहुलियत दिन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार पत्रकार महासंघ र मिडिया सञ्चालकहरुसँग छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देश गरेको हो ।
‘विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले आमसञ्चार क्षेत्रमा पारेको नकारात्मक असरको विस्तृत अध्ययन गरी त्यसको प्रभावका बीचमा प्रकाशन प्रसारणलाई निरन्तरता दिई सूचना प्रवाहमा पुर्याएको योगदानको आधारमा सञ्चारगृहलाई सहुलियत, राहत र सुरक्षाको प्रवन्ध मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ’ बैठकपछि समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।
पत्रकार निकालेको पाए कारबाही गर्नू
समितिले सञ्चारमाध्यममा कार्यरत पत्रकार र कर्मचारीहरुलाई रोजगारीबाट हटाइएको पाइए कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
‘कोभिड–१९ ले सिर्जना गरेको सुरक्षाको असहज जोखिमयुक्त परिस्थितिमा पनि अहोरात्र सूचना प्रवाह गरी पेशागत दायित्व निर्वाह गरीररहेका श्रमजीवि पत्रकार र सञ्चारमाध्यममा कार्यरत कर्मचारीहरुलाई जबरजस्ती रोजगारीबाट हटाउने, बेतलबी बिदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने र करार सम्झौता भंग गर्ने जस्ता श्रमजीवि पत्रकार ऐन २०५१ विपरीतका कार्यहरु हुन नदिन र भएको पाइएमा कानुन बमोजम कारबाहीको प्रक्रिया अगाडि बढाउन समिति सूचना प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ बैठकपछि जारी निर्देशनमा भनिएको छ ।