कोही चोइटिएलान् तर नेकपा फुट्दैन् : बरिष्ठ नेता नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ९, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ९,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोपरि ठान्ने व्यक्ति र प्रवृत्ति आफै पतन भएर जाने बताएका छन् । ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरि आफूलाई सर्वोपरि ठान्ने र आफैलाई केन्द्रबिन्दुमा राख्नेहरु आफै पतन भएर जाने र त्यो प्रवृत्ति पनि पतन हुने बताए ।

विधिको पालना गरी सङ्गठनलाई सुरु गर्न सके सबै कुरा गति र स्वभाविक प्रक्रियामा अगाडि बढ्ने उनले बताए । उनले भने, ‘विधिको पालना गरिएन भने, ‘आईएम द स्टेट’ ठानियो भने, आफूलाई सर्वोपरि ठान्न थालियो भने, आफूलाई मात्र केन्द्रबिन्दुमा राख्न थालियो भने, आफूबाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहङ्कारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुने बाहेक अर्को केही पनि हुँदैन ।’

नेता नेपालले त्यस्तो प्रवृत्तिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिन सुझाव दिए । उनले भने, ‘त्यस्ता विचार र प्रवृत्तिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने त्यसबाट जोगिन समय छ । तर समय धेरै ढिला हुन थालेको छ ।’ नेता नेपालले कम्युनिस्ट पार्टी फुट्छ कि भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कसैले पार्टी फुटाउन खोजे ऊ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उनले जिकिर गरे ।

उनले भने, ‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाला छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’

नेता नेपालले पार्टीभित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताएका छन् । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उनले बताए । विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘म मान्दिन, म मान्न बाध्य छैन, आदि इत्यादि भन्न कसैले पनि पाउँदैन । त्यो छुट पाइँदैन । मलाई लाग्छ फेरि पनि बुद्धि सबैमा पलाउने छ ।’

नेता नेपालले सबैलाई समयमै जिम्मेवार हुन पनि आग्रह गर्नुभएको छ । सबैले आ–आफ्ना कमी कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । सबैले आफ्नो भूमिका सम्झेर कमजोरी सुधार गर्दै अगाडि बढ्न सके विचार, सङ्गठनका हिसाबले पार्टी बलियो हुनेमा उनको जोड छ । श्रेष्ठता व्यवहारमा देखाउन सकिए मात्रै कम्युनिस्ट पार्टीको औचित्य साबित हुने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस