पुस ४, काठमाण्डौ । चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने भएको छ । चिनियाँ राज्य सञ्चालित समाचार संस्थाका अनुसार चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोभिड खोप कार्यक्रम आगामी बर्षको सुरूमा सञ्चालन गर्ने योजना बनाएका छन् । यद्यपि केन्द्र सरकारले यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन ।
चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भएपनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा खोप सेवा सीमित राखिने छ । चीनले विकास गरेका विभिन्न पाँच कोरोनाभाइरसविरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम प्रकाशित पनि अझै भइसकेको छैन ।