असार ३१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०४७ सालदेखि सन्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण गरेको छ ।
सरकारको योजनामा राष्ट्र बैंकले यो कोष साना किसान लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरेको हो ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको उपस्थितिमा कोष हस्तान्तरणसम्बन्धी सम्झौतापत्र आदान–प्रदान भएको हो ।
कोष हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवराम कोइरालाले हस्ताक्षर गरे ।
अर्थमन्त्री खतिवडाले एक वर्षदेखिको कोष हस्तान्तरण योजना सफल भएको बताए ।
राष्ट्र बैंकको कार्यक्षेत्र बढ्दै जाँदा कोष हस्तान्तरण योजना बनाइएको उनले बताए ।
उनले संस्थालाई ‘घ’ वर्गबाट रुपान्तरित हुँदै ‘ख’ वर्गमा स्तनोन्नति गर्ने योजना बनाइ कोषको सही परिचालन गर्न आग्रह गरे ।
गभर्नर नेपालले कोषमा एक अर्ब रुपैयाँ रहेको र ३५ करोड कर्जा प्रवाह गरेको बताए ।
उनले सरकारको योजनाअनुसार तीन दशकदेखि केन्द्रीय बैंकले परिचालन गर्दै आएको कोष संस्थालाई हस्तान्तरण गरिएको बताए ।
कोषको उद्देश्यअनुसार संस्थाले कोषको परिचालन अझ सहीरुपमा गर्ने विश्वास उनले व्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कोइरालाले सरकार र राष्ट्र बैंकले विश्वास गरेर कोष हस्तान्तरण गरेको भन्दै कोषको सही परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहकारी तथा गैरसरकारी संस्थाहरुमार्फत् ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्न वर्गका जनतालाई आय एवं स्वरोजगारमूलक कर्जा कार्यक्रममा सहयोग पुर्याउन कोष स्थापना गरिएको थियो ।