क्लिंकर उत्पादनमा मुलुक आगामी वर्षदेखि आत्मनिर्भर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण ४, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ४,भैरहवा । सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर उत्पादनमा मुलुक आगामी वर्षदेखि आत्मनिर्भर बन्ने देखिएको छ । एक दशकअघिसम्म मुलुकका दुई सरकारीबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग भारतबाट आयातित क्लिंकरमा निर्भर थिए ।

अब एक वर्षभित्र उद्योगका लागि मुलुकमा उत्पादित क्लिंकरले पुग्ने दाबी रुपन्देहीका उद्योगीले गरेका छन् ।

“केही वर्षदेखि क्लिंकरमा परनिर्भरता घट्दै जान थालेको छ”–नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेश अग्रवालले भने, “अबको एक वर्षमा आत्मनिर्भर हुने अवस्था छ ।” अहिले क्लिंकर उत्पादनका साथै ठूला सिमेन्ट उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि परनिर्भरता घटिरहेको उनले बताए।

उनका अनुसार अहिले वार्षिक ७० लाख टन क्लिंकर खपत हुने गर्छ । गत आर्थिक वर्षमा करिब ३० लाख टन क्लिंकर आयात भएको थियो । पाँच वर्षअघिसम्म कुल खपतको झन्डै ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुने गथ्र्यो । पछिल्लो वर्ष यसको आयात घट्दो क्रममा छ ।

आर्थिक वर्ष ०७३/७४ मा करिब ४० प्रतिशत, आर्थिक वर्ष ०७४/०७५ मा करिब ३० प्रतिशत क्लिंकर आयात भएको थियो । गत आर्थिक वर्ष ०७५/७६ मा करिव १५ प्रतिशत अर्थात दुई अर्व ३२ करोडको मात्रै क्लिंकर आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०७६/०७७ मा मुलुक आत्मनिर्भर हुने उद्योगीको दाबी छ । यस अवधिमा ठूलो परिमाणमा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा आउने उद्योगी अग्रवालले बताए। यहाँ उत्पादन भएको क्लिंकरका कारण आर्थिक वर्ष ०७४/७५ मा ३५ अर्ब रुपैयाँ बराबरको भारतीय क्लिंकरको आयात घटेको देखिन्छ । आर्थिक वर्ष ०७५/७६ मा ६ अर्व ६२ करोड रुपियाँको मात्रे क्लिंकर आयात भएको भन्सारका सूचना अधिकृत पौडेलले बताए ।

आगामी वर्ष यहाँको उत्पादन बढ्ने र आयात रोकिने व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार आगामी वर्षभित्रमा ६५ अर्ब रुपैयाँ बराबरको क्लिंकर आयात रोकिनेछ । चुरे पहाडमा क्लिंकर उत्पादनका लागि आवश्यक चुनढुंगा खानी प्रशस्त छन् । तिनको सदुपयोग हुन थालेपछि यहाँ उत्पादन बढेको हो । नेपालका अधिकांश क्लिंकरसहितका ठूला सिमेन्ट उद्योग चुरे आसपास र नजिक स्थापना भइरहेका छन् ।

वि।सं २०५५ सालबाट क्लिंकर आयात गरी त्यसलाई पेलेर (ग्रान्डिङ युनिट) सिमेन्ट उत्पादन सुरु भएको हो । अहिले नेपालमा यस्ता ग्रान्डिङ युनिटका सिमेन्ट उद्योग चार दर्जनको हाराहारीमा छन् । वि.सं २०६८ देखि क्लिंकरसहित उत्पादन सुरु गरेको अर्घाखाँची सिमेन्ट निजी लगानीको पहिलो ठूलो सिमेन्ट उद्योग हो ।

अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीले आगामी वर्षमा ठूलो परिमाणको क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने थप चारवटा उद्योग सञ्चालनमा आउने बताए। “ती उद्योग सञ्चालनमा आएपछि नेपाललाई आवश्यक पर्ने क्लिंकर स्वदेशमै उपलब्ध हुनेछ,” उनले भने, “पश्चिम नवलपरासीमा पाल्पा सिमेन्ट, मकवानपुरमा रिद्धिसिद्धि, उदयपुरमा सौर्या र दाङमा सम्राट सिमेन्ट उद्योग सञ्चालनको तयारीमा छन् ।” एक वर्षमा घोराहीले वार्षिक ७ लाख टनबाट उत्पादन विस्तार गरी १४ लाख, सर्वोत्तमले चार लाख टनबाट १० लाख र अर्घाखाँची सिमेन्टले चार लाख टनबाट बढाएर १० लाख टन पु¥याएका छन् ।

हाल मुलुकमा वार्षिक ४० लाख टन क्लिंकर उत्पादन भइरहेको छ । ‘दुई वर्षभित्र वार्षिक ७० लाख टन क्लिंकर उत्पादन हुनेछ,’ कार्कीले भने, ‘अब क्लिंकरमा नेपाल आत्मनिर्भर बन्ने निश्चित छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस