भाद्र ३०, काठमाडौं । अवैध गतिविधिमा संलग्न गिरोहले बैंकमार्फत नै करोडौँ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ।
प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानबिन गरेको छन्।
नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैंकमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ ।
अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेस्ट बैंक र नेपाल एसबिआई बैंकबाट २६ करोड रुपैयाँ अवैध रूपमा भारत पुर्याएका हुन् । ती व्यापारीले बैंकका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ।
टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत पुर्याइएको हो । नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटकपटक गरेर भारतीय बैंकमा रहेको आफ्नो खातामा पैसा लगेका हुन् ।
‘अनुसन्धान गर्दा उनको नेपालमा कुनै पनि कम्पनी देखिएन,’ विभागका एक अधिकारीले भने, ‘नक्कली कागजपत्रकै आधारमा ठूलो रकम भारत लगेको देखिएको छ । यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ ।’ अवैध रूपमा नेपालबाट भारतमा पैसा लैजाने भारतीय नागरिक फरार भइसकेका छन्।
विभागले सो प्रकरणमा संलग्न एभरेस्ट र एसबिआई बैंकका कर्मचारीसँग बयानसमेत लिइसकेको छ।
ती कर्मचारी र भारतीय नागरिकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विभागले एक साताभित्रै मुद्दा दायरको तयारी गरेको छ।
कम्पनीको आधिकारिकता तथा आम्दानीको स्रोतजस्ता विषयको अध्ययन नै नगरी बैंकका कर्मचारीले टिटीमार्फत करोडौँ रकम शुद्धीकरणमा सघाएका विभागको दाबी छ।