भाद्र ३१, काठमाडौं । झण्डै डेढ सातापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साह देखिएको छ । साताको तेस्रो दिन दोहोरो अंकको वृद्धिसँगै नेप्सेमा उत्साह आएको हो ।
विहानै अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार सुधारका निम्ति सरकारले प्रयत्न गरिरहेको उल्लेख गर्दै नयाँ लगानीकर्ताहरुका निम्ति अहिले उपयुक्त समय भएको बताएका छन् । कर्मचारी सञ्चय कोषको ५८औं वार्षिकोत्सवमा बोल्दै मन्त्री खतिवडाले पुँजी बजारको स्थायित्वका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता कोषलाई पुँजी बजारको प्राथमिक र दोस्रो बजारमा प्रवेश गराउने तयारी गरेको बताएका थिए ।
पुँजी बजारका विरोधीका रुपमा व्याख्या गरिएका अर्थमन्त्रीले सो कुरा बताएपछि लगानीकर्तामा उत्साह आएको बताइएको छ । नेप्सेमा सूचीकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेका बेला लगानीकर्ता ढुक्क हुन नसक्दा लगातार नेप्सेमा गिरावट आएको थियो ।
मंगलबार नेप्से परिसूचक २६.९१ अंकले बढेर ११५०.७४ बिन्दूमा पुगेको छ ।
कुल १७१ कम्पनीको १३ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ३९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । परिसूचकमा दोहोरो अंकको सुधार हुँदा पनि कारोबारमा भने खासै सुधार हुन सकेन, सामान्य स्थितिमा अघिल्ला दिनमा जस्तै कारोबार न्यून भएको हो । विगतमा दैनिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन्थ्यो ।
समग्र परिसूचकमा वृद्धि भएको दिन शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे पाँच प्रतिशतले घटेको छ ।
यस दिन सबैभन्दा बढी सिद्धार्थ बैंकको शेयर किनबेच भएको छ । यस बैंकको साढे ३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका समूहमध्ये सामूहिक लगानी कोष समूहबाहेक सबै समूहको परिसूचकमा बढेको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १०२.९३ अंकले बढेको छ । मंगलबार सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले बढेर २५१.५७ पुगेको छ ।