असोज १० देखि नयाँ नोट साटिने, नोटमा केरमेट नगर्न आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ३, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ३, काठमाडौं । चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने–दिने प्रचलन विशेषगरी दसैंको अवसरमा बढी हुने गरेको छ ।

के गाउँ ? के सहर ? सबैतिर नयाँ नोटकाबारेमा बढी नै चासो हुने गर्दछ ।

आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।

दसैं पर्वमा खासगरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने जनाएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमासमेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साटन पाइने उल्लेख छ ।

बैंकले रु पाँच, १०, २०, ५० र १०० दरका एक/एक पकेट गरी प्रतिव्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

सो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने बैंकको भनाइ छ ।

यस्तै, बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमासमेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत् जानकारी दिएको छ ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँबानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

त्यस्तै, अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ ।

आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ ।

नोटमा केरमेट नगर्न आग्रह

केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ । टीका लगाइ दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको छ ।

त्यस्ता नोट चलन–चल्तीमा आउन नसक्ने भएकाले नयाँ वा सुकिलो नोटको सुरक्षा गर्न आग्रह गरेको छ ।

केन्द्रीय बैंकले अनुरोध गर्दै भनेको छ–‘नोट राष्ट्रको सम्पत्ति हो । यसको हिफाजत गरौं ।’

यस्तै, नेपाली नोटमा कुनै पनि बहानामा रङ लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी दुरुपयोग गर्ने/गराउनेमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने भन्दै बैंकले सबैलाई त्यस्तो कार्य नगर्न/नगराउनसमेत आग्रह गरेको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस