मूल्य वृद्धिदर तीन वर्षयताकै उच्च, कति बढ्यो?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ८, बुधबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । दैनिक उपभोगका वस्तुको बजार भाउ ह्वात्तै बढेको छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा दैनिक उपभोक्ताले प्रयोग गर्ने वस्तुको मूल्य वृद्धिदर करिब ७ प्रतिशत पुगेको छ।

यो दर पछिल्ला तीन वर्ष यताकै उच्च हो । ०७१/७२ भदौमा यस्तो वृद्धिदर करिब ८ प्रतिशत थियो । गत वर्ष साउनमा मूल्य वृद्धिदर करिब ४ प्रतिशत थियो।

उपभोक्ताले वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको अनुभव गरे पनि सरकारी तथ्यांकमा देखिएको थिएन । सरकारी तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम नै देखाइने गरिएको थियो।

मूल्य वृद्धिदर उच्च हुँदा उपभोक्ता मर्कामा पर्छन् नै, सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा पनि असर गर्ने विज्ञ बताउँछन् । यो वर्ष सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ।

मूल्य वृद्धि हुँदा कच्चा पदार्थ र श्रमिकको ज्यालालगायतले निर्माण महँगो हुने विज्ञहरूको तर्क छ । अघिल्ला वर्षहरूमा मुद्रास्फीति दर तल्लो तहमा रहेकाले सरकारलाई सहज थियो।

बजारमा फलफूल तथा तरकारीको मूल्य तथा मजदुरको ज्यालादर वृद्धि र भारतीय प्रभावले नेपालमा मूल्य वृद्धिदर बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए।

‘गत साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ८.०२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६.१२ प्रतिशतले बढेको छ,’ उनले भने, ‘खाद्य तथा पेय पदार्थ समूहमा पर्ने तरकारी, फलफूल, मसला र मासु तथा माछा वस्तुको मूल्य धेरैले बढेको देखिन्छ।’

भारतमा मूल्य वृद्धि धेरै रहेकाले नेपालमा पनि त्यसको प्रभाव परेको भट्टले बताए। ‘नेपाल र भारतबीच स्थिर विनिमय दर र ठूलो परिणाममा वैदेशिक व्यापार रहेकाले भारतीय बजारको प्रत्यक्ष प्रभाव घरेलु बजारमा पर्दै आएको छ,’ उनले भने।

प्रतिवेदनका अनुसार गत साउनमा भारतमा मूल्य वृद्धिदर ३.२१ प्रतिशत मात्र छ । ०७५ साउनमा भारतमा यस्तो वृद्धिदर ३.७ प्रतिशत थियो।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत साउनमा तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि औसत ६.८५ प्रतिशतले बढेको छ । त्यही अवधिमा गैरखाद्य तथा सेवा समूहमा रहेका घरायसी उपयोगीका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षाको मूल्य वृद्धिदर २.२१ प्रतिशत मात्र छ।

प्रतिवेदनले उपत्यका बाहिरभन्दा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर धेरै रहेको देखाएको छ । अघिल्ला वर्षमा काठमाडौं उपत्यकाभन्दा मोफसलमा मूल्य वृद्धिदर उच्च रहँदै आएको थियो।

‘काठमाडौं उपत्यकामा औसत मूल्य वृद्धिदर ८.६३, तराईमा ६.४६, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत छ,’ प्रतिवेदनले औंल्याएको छ, ‘०७५ साउनमा काठमाडौं उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ प्रतिशत र हिमालमा २.७४ प्रतिशत मूल्य वृद्धिदर थियो।’

ताजा अपडेट

खोजी गर्नुहोस