वैशाख १७, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको हो ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ ।
यस्तै, चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बजेटमा सरकारले ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको छ । तर निजि क्षेत्रमा अपेक्षाअनुसार कर्जा विस्तार हुन नसक्दा आर्थिक बृद्धिको लक्ष्य पुरा नहुने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु वर्षमा १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएकामा ७ प्रतिशतले मात्र विस्तार भएको हो । अहिले निमार्ण क्षेत्रमा आएको सुस्तताले अर्थतन्त्रले अपेक्षित गतिशिलता लिन सकेको छैन ।
कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । गत प्रतिव्यक्ति आय वर्ष १४६७ अमेरिकी डलर रहेको थियो ।