चैत्र ९, काठमाण्डौ । भारतसँग सीमा जोडिएका तराइका ठूला बाहेकका अधिकांश सीमा नाका बन्द गरिएका छन् । गृह मन्त्रालयको निर्देशनपछि सीमा नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । भारतबाट आउनेहरुका कारण कोरोना भाइरसको संक्रमण फैलिन सक्ने संभावित खतरालाई मध्यनजर गर्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले ७ वटा नाका बन्द गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए । तिलाडी कोइलाडी गाउँपालिकामा पर्ने कुनौली भन्सार नाकामा चाहिं हेल्थ डेस्क स्थापना गरेर नेपालीहरुलाई प्रवेश दिइएको छ ।
सिरहामा पनि सानाठूला गरी करीब २ दर्जन सीमा नाका बन्द गरिएका छन् । भारतसँग जोडिएका नाकामध्ये माड्र र ठाडीबाहेक अन्य नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । त्यस्तै धनुषामा पनि ठूला बाहेक अन्य अधिकांश नाका बन्द गरिएका छन् । खजुरी र जटही बाहेकका करीब तीन दर्जन नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पर्साका पनि रक्सौल बाहेकका सबै सीमा नाका बन्द गरिएको छ ।
महोत्तरी जिल्ला प्रशासन कार्यालयले पनि भिठ्ठामोड बाहेकका सीमानाका पूर्णतस् बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । ११ मुख्य नाका र अन्य बस्तीसँग जोडिएका साना नाकाहरु आइतबारदेखि बन्द गरिएको प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्लाका सीमाहरु बन्द गर्नका लागि प्रमुख जिल्ला अधिकारी र भारतीय सुरक्षा अधिकारीहरु बसेर आपसी सहमतिमा बन्द गर्न सक्छन् ।
ठूला नाकाहरु बाहेक सानातिना नाका बन्द गरिएको ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताए । खुला गरिएका नाकाहरुमा स्वास्थ्य जाँच गर्ने र घरमै क्वारेन्टाइनमा बस्न सुझाव दिने गरिएको पनि उनीहरुले बताए । गृह प्रवक्ता शर्माले पनि घरमै क्वारेन्टाइनमा बस्न अनिवार्य गर्न भनिएको र घरमा बसे नबसेको अनुगमन गर्न पनि भनिएको बताए । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा सीमा नाका पनि एक हप्ताका लागि बन्द गरिएको छ । दुवै देशका प्रशासनको बैठकले दुवै देशका यात्रुलाई आवातजावतमा रोक लगाइएको हो ।