चैत्र २०, काठमाण्डौ । अमेरिकामा कोरोना भाइरसको संक्रमणले साढे ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने २ लाखभन्दा बढी संक्रमित भएका छन् । अमेरिकाको बाल्टिमोरस्थित जन्स हप्किन्स विश्वविद्यालयको ताजा तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ४ हजार ६ सय जनाको मृत्यु भएको हो । यसैगरी २ लाख १३ हजार मानिस यसबाट संक्रमित भएका छन् ।
अमेरिकामा सबैभन्दा बढी संक्रमण न्युयोर्कमा फैलिएको छ । जहाँ मात्रै संक्रमित ७६ हजारभन्दा बढी भइसकेका छन् । कोरोनाको इपिसेन्टर न्युयोर्कलाई मानिएको छ ।
न्युयोर्कमा पनि सबैभन्दा बढी संक्रमित क्विन्समा छन् । त्यसैले पनि क्विन्स इपिसेन्टरको पनि इपिसेन्टर घोषणा गरिएको छ। जहाँ मात्रै १३ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । न्युयोर्क प्रदेशका गभर्नर एन्ड्रु कओमेले बाँकी प्रदेशमा पनि स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् ।