जेठ ८, काठमाण्डौ । चीनका विश्लेषकहरुले चीनको पूर्वी क्षेत्रमा कोभिड १९ का नयाँ संक्रमितहरु र कोरोनाभाइरस पहिलो पटक देखिएको वुहानका संक्रमितबीच फरक खालका लक्षण देखिएको बताएका छन् । उनीहरुका अनुसार अब नयाँ संक्रमितहरुलाई अझ बढी समय उपचारका लागि अस्पतालमा राख्नु पर्ने देखिएको छ ।
चीनको नेसनल हेल्थ कमिसनका शीर्ष मेडिकल टिमका सदस्य तथा प्रतिष्ठित चिकित्सक किउ हाइबोले चिनियाँ टिभीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो टिमले पाएको अनुभवलाई बताउँदै यो जानकारी दिएका हुन् । उनले जिलिन प्रान्त र पूर्वी चीनमा फेरि नयाँ कोरोनाभाइरस संक्रमित भेटिन थालेको र अलग खालको लक्षण देखिन थालेको बताएका हुन् । उनले यी रोगीहरुलाई ज्वरो नभएको तर घाँटी दुख्ने र शरीर थाक्ने समस्या देखिएको बताएका छन् । कतिपयमा कुनै लक्षण पनि नदेखिएको उनले बताएका छन् । यी नयाँ संक्रमितमा भाइरस लामो समय रहने पनि उनले जनाएका छन् । चीनको सरकारी समाचार एजेन्सी शिन्ह्वाले पनि जिलिन प्रान्त्मा अहिले २५ कोरोनाभाइरस संक्रमित भेटिएको जानकारी दिएको छ ।