जेठ २२, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । बिहीबार बिहान २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार ६३८ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । बुधबार बिहानसम्म त्यतिन्जेलको सबैभन्दा बढी संक्रमण भएको थियो । यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो । त्यो रेकर्ड फेरि तोडिएको छ ।
त्यस्तै मृतक २४ घण्टामा २५९ जना थपिएका छन् । यसअघि बुधबार २२१ जना र मंगलबार २०१ जना थपिएका थिए । शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए । अहिलेसम्म कोरोनाबाट २ लाख १६ हजार ८२४ जना संक्रमित भएका छन् । १ लाख ४ हजार ७१ जनालाई निको भएको छ । २४ घण्टामा ३ हजार ७८६ जनालाई निको भएको छ । मृतकको संख्या ६ हजार ८८ पुगिसकेको छ । संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा बढी ब्रजिलमा २७ हजार ३१२, दोस्रो स्थानको अमेरिकामा २० हजार ५७८ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ५३६ जना संक्रमित भएका छन् ।