जेठ ३२, काठमाण्डौ । भारतमा शनिबार एकै दिन १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । संक्रमणको कारण हिजो त्यहाँ तीन सय नौ जनाले ज्यान गुमाएका छन् । वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको छ । त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ९९ पुगेको छ ।
त्यसैगरी गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ३७ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३१ हजार सात सय २६ पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या ७८ लाख ५५ हजार २१ पुगेको छ भने गएको २४ घण्टामा मात्रै विश्वभर गरेर एक लाख २७ हजार नौ सय २८ जना नयाँ संक्रमित थपिएका छन् ।
गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा आठ सय ९० जनाले ज्यान गुमाएका छन् भने त्यसपछि ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ । अमेरिकामा गएको २४ घण्टामा ६ सय ९९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १७ हजार नाघेको छ ।