मंसिर २२,काठमाडौँ । संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समितिको बैठक शनिबारबाट सुरु भएको छ ।
प्रधानमन्त्री केपी ओली सरकारलाई समर्थन गर्दै सरकारमा गएपछि संघीय समाजवादी फोरम नेपालको यो पहिलो केन्द्रिय समितिको बैठक हो । बिहीबार बसेको पार्टीको राजनैतिक समितिको बैठकले केन्द्रिय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
शनिबार सुरु भएको केन्द्रिय समितिको बैठकमा पार्टिको महाधिवेशनको मिति तय गर्ने र सरकारको समीक्षा समेत गर्ने बताइएको छ । केन्द्रिय समिति बैठकमा प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरणसम्बन्धी नयाँ कार्यविधि तय गर्ने पनि बताइएको छ । सरकारमा जाँदा संविधान संशोधनको मूल मुद्दा छोडेको भन्दै अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् ।
संविधान घोषणा भएको दिनलाई कालो दिवस मनाउने केन्द्रिय सदस्य आन्तरिक कारवाहीको घेरामा परेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारसँग मुद्दा साटेको आरोप समेत लाग्दै आएको छ ।
यसबारे केही केन्द्रिय सदस्यहरुले अध्यक्ष यादवसँग जवाफ माग्ने तयारी पनि गरेका छन् । संघीय समाजवादी फोरमले पार्टीको केन्द्रिय महाधिवेशन आउँदो वैशाखमा गर्ने तयारी गरेको पनि बुझिएको छ ।