निर्वाचनसम्बन्धी सम्पुर्ण व्यवस्था ऐनमै लेख्नुपर्ने भन्दै बिदा भए प्रमुख निर्वाचन आयुक्त यादव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र १०, आईतबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

 

चैत्र १०,काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै व्यवस्था हुन आवश्यक रहेको बताएका छन ।

निर्वाचन आयोगद्वारा उनको सम्मानमा आज आयोजित बिदाइ कार्यक्रममा उनले भने, “स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि हाम्रो देशमा ऐन मै निर्वाचनको कार्यतालिका उल्लेख गर्नु अति नै आवश्यक छ ।”

“निर्वाचनको मिति घोषणा गर्ने अधिकार अहिले कार्यकारिणीलाई छ, त्यो अधिकार सरकार, संसद् र आयोगलाई होइन, निर्वाचन ऐनमा हुनुपर्दछ, कुन तहको निर्वाचन गर्ने हो, कति समय लाग्ने हो सबै व्यवस्था कानूनबाटै निर्देशित हुनुपर्छ”, प्रमुख आयुक्त डा यादवले भने ।

विसं २०६२÷६३ को जनआन्दोलनको उपलब्धिका रुपमा लोकतन्त्र, सङ्घीयता र गणतन्त्रले स्थायित्व प्राप्त गरिसकेको हुँदा अब आवधिक निर्वाचनको सुनिश्चिताको लागि कानूनमै निर्वाचन कार्यतालिका उल्लेख गर्नुपर्ने उनले बताए ।

इमान्दार र समन्वय गरेर आयोगका पदाधिकारीले काम गरेमा लोकतन्त्र, सङ्घीयता र गणतन्त्रको सुदृढीकरणका साथै आयोगप्रति सबैको विश्वास बढ्ने बताउँदै उनले भने “आयोगले लोकतन्त्रको सुदृढीकरणका निम्ति ठूलो योगदान दिन सक्छ ।”

सबैको सहयोग आफ्नो इमान्दार, आत्मविश्वास र मेहिनतका कारण प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी र कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनले एघार महीनाभित्र तीन तहका ११ निर्वाचन गर्नु आफैमा महत्वपूर्ण पक्ष भएको बताए ।
सरकार र आयोगबीच आवश्यक सहकार्य गरी प्रदेश र स्थानीय तहमा खाली रहेका पदमा यथाशीघ्र निर्वाचन गराउन अघि बढनुपर्ने सुझाव प्रमुख निर्वाचन आयुक्त यादवले दिए । सरकारले उनलाई २०७२ साल असार २७ गते प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिएको थियो । यसअघि २०६३ साल पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्तमा रही काम गर्नुभएका डा. यादवले २०६९ चैत ११ गते पुन उक्त पदमा नियुक्ति पाएका थिए ।

महेन्द्र मोरङ क्याम्पसमा सहायक प्राध्यापक, जुट विकास तथा व्यापार संस्थानको महाप्रवन्धकको अनुभवसमेत सम्हालेका डा यादवका निर्वाचन प्रणालीको संक्षिप्त रुपरेखा, नेपालमा निर्वाचन खर्च, संविधानसभा निर्वाचन २००८ को झलक, नेपालमा मतदाता दर्ता प्रणाली तथा नेपालको अर्थ राजनीति लगायतका विषयमा सात वटा पुस्तक प्रकाशित छन् ।

उनीसंगै आयुक्त ईला शर्माले पनि आजैदेखि आफनो छ वर्षे कार्यकाल पूरा गरेकी छिन । उनीहरु दुवै जनाको २०६९ चैत ११ गते निर्वाचन आयुक्तमा नियुक्ति भएको थियो । समापन समारोहमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, सचिव देवकुमारी गुरागाईं र सहसचिव शङ्कर खरेलले प्रमुख आयुक्त डा यादवको नेतृत्वमा आयोगबाट सम्पादन भएका निर्वाचनसम्बन्धी महत्वपूर्ण काम र उपलब्धि बारे प्रकाश पारेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस