बैशाख २३, काठमाडौँ । नेपाली कांग्रेसले बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
कांग्रेसले सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी बुधबारदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
वैशाख ११ गतेबाट सुरु हुने भनिएको जागरण अभियान नेता रामकृष्ण ताम्राकारको निधनका कारण स्थगित भएर बुधबारदेखि फेरि सुरु गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
जागरण अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम एक महिनाको हुनेछ । वैशाख २५ गतेबाट जेठ २५ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जागरण अभियान सबै जिल्लामा सञ्चालन गरिने पनि प्रवक्ता शर्माले जानकारी दिए। अभियानका लागि पार्टीका केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा पुग्ने क्रम सुरु भैसकेको पनि प्रवक्ता शर्माले बताए।
यस्तै कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ गते बीपी जयन्तिको अवसर पारेर सुभारम्भ गरिने पनि जानकारी दिइएको छ । असोज १० गते सम्पन्न हुने दोस्रो चरणको जागरण अभियान ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सञ्चालन हुने पनि प्रवक्ता शर्माले बताए ।
हिमाल, पहाड, तराई–मधेश र प्रवासमा समेत सञ्चलन हुने अभियान अन्तर्गतको तेस्रो चरणको कार्यक्रम आगामी पुस ७ गते सुरु भई पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।
प्रवक्ता शर्माका अनुसार तीनै चरणको जागरण अभियानमा पार्टीका केन्द्रीय नेताहरु परिचालन हुनेछन । नेपाली कांग्रेसले बुधबारबाट सुरु हुने तीन चरणको जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी हुन पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।