बैशाख २३, काठमाडौँ । सरकारले जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवस भव्य रुपमा मनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
गणतन्त्र दिवसलाई नागरिकको उत्सवको रुपमा मनाउने गरी दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले बताए । उनले नागरिकको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको प्रणाली भएकाले त्यसलाई नागरिकस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत समेत गराए ।
कार्यक्रमअनुसार गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाण्डौको टुँडिखेलस्थित सैनिक मंचमा विशेष कार्यक्रम आयोजना गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको ब्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिए।
त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । १५ गते साँझ दिपावली गरेर गणतन्त्र दिवस भव्य रुपमा मनाइने छ ।
गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र ब्यानर सजाई नगरको सफाइ र श्रृंगार गर्नुपर्नेछ । त्यसैगरी दिवसकै अवसरमा आम नागरिकलाई घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृह सचिव राईले बताए ।
जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने गणतन्त्र दिवस–२०७६ को कार्यक्रममा उल्लेख गरिएको छ ।
गृह सचिव राईले गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको बताए ।