साउन १, काठमाडौँ । हुम्लाका दलित तथा विपन्नलाई सिलाइकटाइ तालिमका लागि प्रदेश सरकारबाट आएको बजेट जिल्लाका उच्च पदस्थ व्यक्तिलाई कोट सिलाएर सकिएको छ।
कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष ०७५ /०६७ को नियमित कार्यक्रमका लागि आएको बजेटले जिल्लाका हाकिमदेखि मन्त्रीका पिएसम्मलाई कोट सिलाइएको छ ।
विपन्नलाई सिलाइकटाइ तालिम दिन घरेलु कार्यालयले कपडा किनेको थियो। सुर्खेतबाट प्रशिक्षक पनि मगाइएका थिए।
‘डिएसपीदेखि सिडिओसम्मले लाइन लागेर नाप दिए,’ घरेलु तथा साना उद्योग विकास समिति हुम्लाका निमित्त प्रमुख शम्भुप्रसाद उपाध्यायले भने, ‘तालिमको अनुगमनका लागि आएका हाकिमहरुले ‘खोइ कस्तो बन्नेरहेछ’ भन्दै नाप दिएपछि बाध्य भएर कोट सिलाउनु परेको हो।’
त्यसपपछि प्रशिक्षकले धमाधम उनीहरुका लागि कोट सिलाए। कपडा पनि सकियो, तालिम पनि सकियो।
यी हुन् कोट सिलाउनेहरु
हुम्लाका सिडिओ लोकराज ढकाल, सहायक सिडिओ महेशकुमार पोखरेल, डिएसपी रामप्रसाद घर्तीमगर, सशस्त्र प्रहरी प्रमुख राजकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख सञ्जीव चौधरी, कोष तथा लेखानियन्त्रक राजन रेग्मी, जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावल, समन्वय समितिका अधिकारी रामप्रसाद अधिकारी, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, कांग्रेसका जिल्ला सभापति जयपति रोकाया, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिब नन्दबहादुर रोकाया लगायतले दलित तथा विपन्नलाई सिलाइकटाइ तालिमका लागि आएको बजेटबाट कोट सिलाएका हुन्।
तर, बजेट दुरुपयोग भएको भन्दै सहभागीले व्यापक बिरो गर्न थालेपछि कोट वितरण हुन सकेको छैन।
अहिले कोट घरेलु तथा साना उद्योगको कार्यालयको एउटा कोठामा झुन्ड्याएर राखिएको छ।