पौष ५, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेताहरूले भन्दै आउनुभएको राजनीतिक सङ्क्रमण समाप्त भएर आर्थिक समृद्धिको यात्रा सुरु भएको कुरा नेकपा र राजपाको दुईबुँदे सहमतिले पुष्टि गरेको छ । देश विखण्डनको नारा दिएर आन्दोलन गरिरहनुभएका सीके राउतलाई मूलधारमा ल्याएर सरकारले ठूलै उपलब्धि हासिल गरेको थियो । यसले गर्दा सरकारको निकै प्रशंसा पनि भएको थियो ।
संविधान संशोधनको माग राख्दै आन्दोलनको चेतावनी दिँदै आएका पार्टीहरूमध्ये समाजवादी पार्र्टी सरकारमै सहभागी छ । संविधान संशोधनको माग राखे पनि सडक आन्दोलन तथा विरोधका कार्यक्रम गर्न पाएको छैन । संविधान निर्माण भएको दिनलाई मधेसमा कालो दिवसका रूपमा मनाउँदै आएका समाजवादी पार्टी र जनमत पार्टीले सरकारसँग सहमति गरेपछि त्यो दिवस मनाउन छाडेका छन् । राजपा नेपालले मात्र संविधान निर्माणको दिनलाई विरोध गर्दै कालो दिवस मनाउँदै आएको थियो । पुस २ गते नेकपासँग दुईबुँदे सहमति गरेपछि राजपा नेपालले पनि विरोधका कार्यक्रम नगर्ने विश्वास गरिएको छ ।