जेठ २५, काठमाडौं । आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अपराह्न साढे ५ बजेलाई बोलाइएको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।
बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेपछि कार्यसूचीमा प्रवेशै नगरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । अब प्रतिनिधिसभाको बैठक भोलि सोमबार दिउँसो २ बजे बस्नेछ ।
यसअघि आजै १ बजेलाई तोकिएको बैठक सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच सहमति नजुट्दा सवा ३ बजेलाई सारिएको थियो । सारिएको समयमा पनि बैठक बस्न नसकेपछि पुनः साढे ५ बजेलाई तोकिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएलगत्तै फेरि स्थगित भएको हो ।
भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्च स्तरिय छानबिन समिति बनाउनुपर्ने भन्दै विपक्षी दलहरुले गत जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएका छन् । विपक्षीको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित बनेको छ ।