पौष १०, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भावी सभामुखबारे औपचारिक निर्णय भएको छैन । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन् । यद्यपि सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङकै सम्भावना रहेको धेरै नेताहरुको भनाइ छ । पुनःस्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसद् नेम्वाङ सभामुख थिए ।
पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन् । यसैक्रममा बिहीबार हुने भनिएको उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा शुक्रबारका लागि सरेको छ । सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले बिहीबार नै राजीनामा दिने बताइएको थियो । संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ ।