पुस १९,काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन्। ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई माथि लैजान सक्छ। त्यही क्रममा अमेरिकाको सहयोग पनि नेपालले लिन सक्छ। तर, यो नेपालको आफ्नो हितमा हुनुपर्छ। यस्ता विषयमा नेपाल स्वतन्त्र छ’, चिनियाँ दूतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा होउले भनिन्, ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन। कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्ने निर्णय स्वतन्त्र राष्ट्रको रहन्छ।’
राजदूत होउले करिब ५६ अर्ब रुपैयाँ अमेरिकी अनुदान सहयोग रहेको एमसीसी संसद्बाट अनुमोदन हुने प्रक्रिया नियालिरहेको बताइन्। अमेरिकासँगको यो सम्झौतालाई लिएर सत्तारूढ नेकपा स्थायी समिति बैठकमा विवाद छ। नेकपाका केही नेताले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोडेर संसद्बाट पारित गर्न नहुनेमा जोड दिँदै आएका छन्।
राजदूत होउले भनिन्, ‘चीनले कुनै मुलुकको आन्तरिक विषयमा कहिल्यै हस्तक्षेप गर्दैन। हामी सबैसँग सहकार्य गरेर अल्पविकसित मुलुक अघि बढेको हेर्न चाहन्छौं।’
नेपाल–चीन सम्बन्ध थप उचाइमा
राजदूत होउले नेपाल र चीनको सम्बन्ध मित्रतामा मात्र नभई विश्वासमा अडेको बताएकी छन्। उनले नेपालको विकास यात्रामा चीन सधैँ सहकार्य गरेर अघि बढ्न चाहेको स्पष्ट पारेकी छन्। दुवै मुलुकका राष्ट्रपति र अन्य उच्चस्तका भ्रमणपछि दुईपक्षीय सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ। सन् २०१९ मा नेपाल–चीन सम्बन्ध उचाइमा पुगेको विश्वास व्यक्त गर्दै राजदूत होउले भनिन्, ‘राजनीति, अर्थतन्त्र, व्यापार, वाणिज्य र जनस्तरको सम्बन्धमा समेत तीव्र विकास भइरहेको छ।’
राजदूत होउले नेपाल र चीन सम्बन्ध मित्रतामा मात्र नभई विश्वासमा अडेको बताइन्। उनले भनिन्, ‘राजनीति, अर्थतन्त्र, व्यापार, वाणिज्य र जनस्तरको सम्बन्धमा तीव्र विकास भइरहेको छ।’ भूपरिवेष्टित नेपाललाई भू–जडित बनाउँदै समृद्धि र विकासमा केन्द्रित हुन बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० परियोजना अघि बढाइएको उनले स्पष्ट पारिन्। उनले नेपाल–चीनबीचको सुमधुर सम्बन्ध नरुचाउने केही तत्वबाट जोखिम रहेको अवस्था नकार्न नमिल्ने बताइन्। होउले भनिन्, ‘चीनले आतिथ्य रहने मुलुकको ऐनकानुनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा कहिल्यै गर्दैन।’
चीनले अपराधीलाई कानुनी दायरामा ल्याउन सघाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। ‘चीनको राष्ट्रिय स्वार्थ र सुरक्षामा नेपालबाट जोखिम छैन,’ उनले भनिन्, ‘अवाञ्छित तŒवबाट सचेत रहनुपर्ने आवश्यकता पनि बेइजिङले औंल्याउँदै आएको छ। पारस्परिक विश्वास र सहयोगमा आधारित चीन–नेपाल सम्बन्धलाई झिनामसिना मुद्दाले खासै प्रभाव पार्दैन।’
पर्यटक भिसामा नेपाल आएर गैरपर्यटकीय गतिविधिमा संलग्न हुनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीलाई सूचना र सहयोग प्रदान गरिरहेको उनको भनाइ छ। उनले भनिन्, ‘यस्तो सहकार्य निरन्तर जारी रहनेछ।’ केही दिनअघि प्रक्राउ परेका चिनियाँ अहिले प्रहरी हिरासतमा छन्।