पुस २०,काठमाडौँ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीबाट जनता वाक्क भइरहेका बेला कांग्रेसप्रति आकर्षण बढ्दै गएको छ भने सत्तारुढ नेकपाकै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरिरहेका छन् ।
नेपाल तरुण दल मोरङ क्षेत्र नम्बर ६ ले शनिबार विराटनगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपासहित विभिन्न पार्टीका चार सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई स्वागत गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टीका लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै नेता कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताए । उनले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिए ।
केन्द्रीय सदस्य डा. कोइरालाले सरकारले देशमा महंगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिए । जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा राखे ।
नेपाल कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरूको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले मन्तव्य राखेका थिए ।