माघ १, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा मारिएका सबै १७ हजारजनाको हत्या आरोप आफूमाथि लगाएको भन्दै गुनासो गरेका छन् । काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्वसलाई बुधबार सम्बोधन गर्दै उनले राज्यबाट मारिएका १२ हजार मान्छेको हत्या आरोप पनि आफैंमाथि लागेको भन्दै गुनासो गरेका हुन् ।
‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ, त्यो सत्य होइन, हिजोको सामन्ती राजाहरुले १२ हजारको हत्या गरे । त्यसको कसैले वास्ता नै गरेन’, उनले भने, ‘जनयुद्धको जिम्मा मेरो हो । तर, १७ हजार होइन ५ हजारजना मारिएको जिम्मा म लिन्छु ।’ राज्यबाट मारिएका १२ हजार पनि आफ्नै टाउकोमा हालेको कुरा मान्य नहुने उनले प्रष्ट्याए । नगरेको कामको कुनै पनि हालतमा आफू जिम्मा लिन तयार नहुने दाहालले बताए ।