माघ ३, काठमाण्डौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफलमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कानून बनाएर अघि बढ्ने सहमति भएको छ ।
तीन नेताबीच शुक्रवार बिहान बालुवाटारमा छलफल भएको थियो । बैठकमा सभापति देउवासँगै डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित भएका थिए भने नेकपाका तर्फबाट अध्यक्षद्वयसँगै सुवासचन्द्र नेम्वाङ र अधिवक्ता खिमलाल देवकोटा सहभागी थिए । गत पुस २८ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले देशैभर अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रमपछि आएका सुझावहरू समेटेर तयार पारिएको प्रतिवेदन नेतात्रयले बुझेका थिए ।
गतसाल चैत्र मसान्तदेखि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पदाधिकारीबिहीन छन् । पदाधिकारी नियुक्तिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिसमेत बनेको छ ।