माघ ६, काठमाण्डौ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिँदै जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट पारेकी छिन् ।
एउटा अप्रत्याशित र अस्वाभाविक परिस्थितिका कारण सार्वभौम जननिर्वाचित संस्था लामो समयदेखि सभामुखविहीन हुँदा जटिलता पैदा भएकाले यस्तो स्थिति कायम रहिरहनु हुन्न भन्ने निष्कर्षका साथ आफूले राजीनामा गर्ने निर्णय गरेको उनले बताईन् । उनले लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णय जनताको सुक्ष्म निगरानीमा रहेका हुन्छन् भन्ने स्पष्ट पार्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिने बताइन् ।
उनले कोही कसैले पनि आफ्ना जरा र धरातल भुल्न नहुने तथा स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि आफू सचेत रहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘उपसभामुखका रुपमा विगत दुई वर्षसम्म माननीय सदस्यसँग बिताउन पाएको अवधि मेरो जीवनका अविस्मरणीय र सुखद् अवधिका रुपमा स्मृतिमा रहने छन् ।