माघ ८, काठमाण्डौ । नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षले प्रतिपक्षलाई यति ठूलो ‘सरप्राइज’ शायदै दिएको थियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिएका छन् । अर्थात्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झण्डै आधा आधा भागबण्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका कांग्रेस नेताहरु आ आफ्ना मान्छेको नाम सिफारिश गराउन सकेकोमा पूरै सन्तुष्ट भएर फर्किएका छन् । यो मामिला मात्र होइन, शनिबार प्रधानमन्त्रीले जे अभिव्यक्ति दिए, त्यसले आगामी अवसरका सन्दर्भमा पनि राम्रो सम्भावनाको संकेट गरेको बुझिन्छ ।
त्यहाँ ओलीले भनेका थिए, ‘सबैतिर अलपत्र छ । सब कुरा मैले सहमतिका लागि रोकेर राखेको छु । विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, रेक्टरहरु खाली छन् । म हामी मात्रै लिऊँ भन्दिन, मिलेरै जाऔँ भन्नेमा छु ।’ देउवाको दुखेसो थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार ’
प्रमले के भयो ? भनी सोध्न खोज्दाखोज्दै शेरबहादुरले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन् । पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन् । पार्टी नै छैन जस्तो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ । म चाहीँ खुरुखुरु भनेको मानेर सघाइरहेको छु । तपाईंहरु चाहीँ मलाई पेल्नुहुन्छ ।’
देउवाले ‘म त वर्बाद भइसकेँ यार..’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रम ओलीले उदारता देखाएका छन् । त्यसपछि देउवाले प्रस्ताव गरेको सुदूरपश्चिम भेगका गणेश दत्त भट्टको नाम सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रमुखमा पारित भयो । आजको जनआस्था साप्ताहिकबले छापेको छ ।