सभामुखको नयाँ निवास खोजी : बालुवाटारबाट लैनचौर पुग्ला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ८, बुधबार (५ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

माघ ८,काठमाडौँ । यसअघि उपराष्ट्रिपतिले प्रयोग गरेको निवासमा सभामुखलाई राखिने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवाससँगै रहेको सभामुखको निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेपछि सभामुखको नयाँ निवासको खोजी भइरहेको थियो । मन्त्रालयले सभामुखका लागि यसअघि उपराष्ट्रपति बस्दै आएको लैनचौरस्थित सरकारी घरलाई प्रयोग गर्ने जानकारी दिएको छ। प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएसँगै सहरी विकास मन्त्रालय र संघीय संसद सचिवालयले सभामुखका लागि निवासको खोजी थालेको थियो ।

सभामुखका लागि निवासको व्यवस्था गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयको हो। यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बसेका थिए। उनी पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेपछि उक्त निवास खाली थियो। सुरक्षा र पार्किङका दृष्टिले पनि उक्त घर सभामुखका लागि उपयुक्त भएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले मन्त्रालयले संसद सचिवालयलाई सभामुखको निवास लैनचौरमा हुने जानकारी आएको बताए। उनले भने, ‘सहरी विकास मन्त्रालयले सभामुख निवासको व्यवस्था गर्छ। अहिलेलाई निवास लैनचौरमा राख्ने कुरा भएको छ। शुक्रबार हेर्न जाँदैछौं।’ मंगलबार सभामुखका लागि मनोनयन दर्ता भएको थियो। जसमा नेकपाका तर्फबाट अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो। सभामुखको घोषणा १२ गते हुने कार्यतालिका रहेको छ। उनी निर्विरोध निर्वाचित हुने भएका छन्। सभामुखमा निर्वाचित भएपछि सापकोटा लैनचौरस्थित निवासमा बस्नेछन्।

बालुवाटारमा सभामुखका लागि निर्माण गरिएको निवासमा भने राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन्। प्रधानमन्त्री निवास नयाँ निर्माणका लागि भत्काएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बस्दै आएको भवनमा सरेका थिए। निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा असोज १९ गते सरकारी निवासबाटै पक्राउ परेपछि सभामुख निवास खाली थियो । सभामुख निवास खाली रहेको अवस्थामा ओली राष्ट्रियसभा अध्यक्ष निवासमा सरेका थिए भने तिमिल्सिना सभामुख निवासमा।

ताजा अपडेट

खोजी गर्नुहोस