फाल्गुण २३, काठमाण्डौ । नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई सञ्चार क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले शुक्रबार ११ बुँदे ध्याकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको हो ।
महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा संविधानप्रदत्त र अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार राज्यका केन्द्र, प्रदेश र स्थानीय तहले बनाउने सञ्चारसम्बन्धी सबै कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्न तथा कानूनको मस्यौदा निर्माणकै चरणवाटै पत्रकार महासंघसहित सम्बन्धित सरोकारवाला पक्षसँग पर्याप्त छलफल र सहमतिको वातावरण बनाउन माग गरिएको छ ।
यस्तै, २०७३ साल साउन ७ गते तत्कालिन मन्त्रिपरिषदवाट पारित गरिएको ‘राष्ट्रिय आमसञ्चार नीति–२०७३’ लाई दृढतापूर्वक कार्यान्वयन गर्न र सोही नीति अनुसार सञ्चार क्षेत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म अनुसार स्वायत्त र स्वतन्त्र संरचना निर्माण गर्न आग्रह गरिएको छ ।