वैशाख ३०, काठमाडौँ । आगामी वर्षको बजेटलाई कोरोना महामारी कोभिड–१९ ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको भन्दै प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् ।
परम्परागत ढङ्गको बजेटले कोरोनाको असर सम्बोधन गर्न नसक्ने भन्दै सामयिक बनाउन सुझाव दिइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हाललाई सङ्क्षिप्त बजेट ल्याएर कोरोना प्रभावको अध्ययनपछि पूरक अनुमान पेस गर्न पनि सुझाव दिएको छ ।
छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद ओनसरी घर्तीले स्वास्थ्य र शिक्षा क्षेत्रमा हालको अवस्थालाई यथास्थितिमा राखेर समाजवादको यात्रा तय नहुने बताए । कोरोनाले पारेको असरलाई सम्बोधन गर्ने गरी बजेट तय गर्न उनले सुझाव दिए । यस्तै, नेपाली काँग्रेसका सांसद डा मीनेन्द्र रिजालले कोरोनाको प्रभावमा नै बजेट केन्द्रित हुनुपर्ने बताए । राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद एकवाल मियाँले कोरोना जोखिम न्यूनीकरणमा नै बजेट केन्द्रित हुनुपर्ने बताए । त्यस्तै समाजवादी पार्टीका सांसद सरिता गिरीले कोरोनाले पारेको असरलाई अध्ययन गरेर बजेट केन्द्रित गर्नुपर्ने बताए ।
नेकपाकै सांसद जनार्दन शर्माले बजेटलाई कोरोना प्रभावको असर न्यूनीकरणका लागि केन्द्रित हुनुपर्ने बताए ।